Wednesday, March 5, 2014

सिंहदरबारमै यसरी सुते प्रधानमन्त्रीका ‘दाजु’ (फोटो फिचरसहित)


सिंहदरबारमै यसरी सुते प्रधानमन्त्रीका ‘दाजु’ (फोटो फिचरसहित)

नेपालमा लोकतन्त्र आएकै हो त हजुरबा ?

२०७० फागुन २० गते १९:३६ मा प्रकाशित
 16.6K  81  0
Tika-bahadur-Basnet-(12)
अरूण बराल 
२० फागुन, काठमाडौं । मध्य दिउँसो घाम चर्किएका बेला सिंहदरबारभित्र छिर्दा जलस्रोत मन्त्रालयको मुख्य गेटैछेऊमा एकजना ज्येष्ठ नागरिक कालो झोलाको सिरानी हालेर कुक्रुक्क परी निदाइरहेका थिए । उनको उमेर र सकल प्रधानमन्त्री सुशील कोइरालाको जस्तै देखिन्थ्यो ।
मन्त्रालयको ढोका छेउमै सुतेका हजुरबालाई अनलाइनखबरकर्मीले घच्घच्याएर उठाएपछि पो थाहा भयो नेपालको लोकतान्त्रिक सरकारको असली अनुहार । हातमा सुनको औंठी र खुट्टामा ‘बुट जुत्ता’ धड्काएका हजुरबा माप्पाका रहेछन् । उनले औंलो ठ्याउँदै भन्न थाले- ‘म प्रधानमन्त्री सुशील कोइरालाको कार्यालयले लेखेको चिठी बोकेर सिँचाइ सचिवलाई भेट्न आएको, तिनलाई कार्यालयमा नभेटेपछि यहाँ सुतेको हुँ बाबु ।’
मकवानपुरको छतिवन गाविस-४ निवासी टीकाबहादुर बस्नेत नाम गरेका ८२ वर्षीय हजुरबारले थपे,- ‘मैले सरकारको ढोकामा धाउन थालेको १३ वर्ष भयो, गिरिजाप्रसादले समेत चिठी लेखिदिँदा पनि सरकारी हाकिमले काम गरेनन्, अहिले फेरि सुशील कोइरालाको चिठी बोकेर हिँडेको छु ।’
सेता आँखीभुईभित्रका चिम्सा आँखाले घोच्ने गरी हेर्दै बस्नेतले भने- ‘अख्तियारले पनि चिठी लेख्यो, तैपनि यिनीहरु टेर्दैनन् । खिलराजले पनि चिठी लेखे, तैपनि टेर्दैनन् । अहिले सुसील कोइरालाले लेखेका छन्, के टेर्लान् ?’
Tika bahadur Basnet (3)
मकवानपुरबाट जनताको काम लिएर ८२ वर्षको उमेरमा सिंहदरबार पसेका उनी ७४ वर्षीय प्रधानमन्त्री सुशील कोइरालाभन्दा कडा रहेछन् । यस्तो उमेरमा त उनी यति कडा छन् भने बैंसमा कस्ता थिए होला ? अनलाइनखबरको जिज्ञासा मेट्दै उनले कालो झोलाबाट पेन्सन पट्टाको प्रमाणपत्र झिकेर देखाए । उनले दोखला हुलाक कार्यालमा हल्काराको जागिर खाएर पेन्सन पकाएका रहेछन् ।
अनलाइनखबरले चासो राखेपछि छेउछाउमा कर्मचारीहरुले हजुरबालाई घेरा हाले, प्रहरीहरु पनि छेऊमा आए हजुरबाका कथा सुन्न । हजुरबाले काजगपत्र देखाउँदै भने- ‘उमेरमा मैले दोलखादेखि रुकुम, रोल्पासम्मका पहाड छिचोलेको छु । त्यस्ता डाँडाकाँडा त चिठी बोकेर कति हिँडियो कति ।’
हजुरबालाई जिविको पार्जनका लागि कसैसँग हात पसार्नुपरेको छैन । छोराछोरी र नातिनातिना हुर्किसकेका छन् । श्रीमान् श्रीमती छोराछोरीबाट बेग्लै बस्दै आएका छन् । बुढेसकालको सहारास्वरुप  मासिक ८ हजार भन्दा बढी पेन्सन आउँछ । मन्त्रालय धाउनका लागि उनी आफ्नै पेन्सनसमेत खर्च गर्न तयार छन् ।
हजुरबाका दुई माग : खहरे नियन्त्रण र लालपूर्जा
राज्यसँग हजुरबाका दुईवटा मात्रै माग रहेछन् । तिनै माग बोकेर उनी सरकारी अड्डा धाउन थालेको १३ वर्ष भएछ । उनले अघि सारेका माग व्यक्तिगत नभएर गाउँभरिका माग हुन् । तर, ती पूरा भए उनलाई समेत फाइदा पुग्छ ।
मकवानपुरको छतिवन गाविस ४ मा बकैया लगायतका खहरे खोलाले करिब २५ सय विघा खेतीयोग्य जमीन पुरेको रहेछ । त्यहाँ तटबन्धनको व्यवस्था गरेर खेर गएको जमीन जोगाइदिनुपर्‍यो भन्ने गाउँलेको माग बोकेर उनी सिंहदरबार छिरेका रहेछन् । सरकारले प्राविधिकहरुसमेत खटाएर ०६४ सालमै सो गाउँको फिल्ड प्रतिवेदनसमेत तयार पारिसकेको रहेछ ।
Tika bahadur Basnet (4)
हजुरबाको दोस्रो माग रहेछ, ऐलानी जग्गामा बसोबास गरिरहेका किसानहरुको जग्गाजमीन नापी गरेर उनीहरुलाई लालपूर्जा दिइनुपर्‍यो ।
दोलखाबाट ०४५ सालमा बसाइँ सरेर छतिवन पुगेका बस्नेतले अनलाइनखबरसँग भने- ‘सारा गाउँको समस्या बोकेर, प्रतिनिधि बनेर ०५७ सालदेखि आफ्नै पैसा खर्च गरेर हिँडेको छु, थोडै आफ्ना लागि हिँडेको हुँ र ? बरु गाउँलेको काम फत्ते गरें भने सबैसँग सहयोग मागेर एउटा टीभी र मोबाइल किनौंला भन्ने धोको छ ।’ अहिले उनीसँग सम्पर्क गर्नका लागि साथमा मोबाइल छैन, घरैमा भेटेमात्रै सम्पर्क हुन सक्छ ।
- See more at: http://www.onlinekhabar.com/2014/03/172992/#sthash.730CSSpJ.ITlo2hE8.dpuf

No comments: