Monday, August 8, 2016

शिक्षण सिकाइको प्रभावकारिता

#समस्या समाधानमूलक प्रश्नोत्तर (निमावि #नेपाली)
#प्र.नं.२. शिक्षण सिकाइको प्रभावकारिता वृद्धिका लागि शैक्षिक सामग्रीहरूको महत्वलाई सबैले स्वीकार गरेका छन् । भाषा शिक्षण सिकाइको प्रभावकारिताका लागि त शैक्षिक सामग्रीहरूको महत्व अझै धेरै छ । हिमालय माध्यमिक विद्यालयको भौतिक, शैक्षिक र आर्थिक पक्ष राम्रो छ । अभिभावक भेलामा अधिकांश अभिभावकहरूले आफ्ना बालबालिकाहरू नेपाली भाषा विषयमा कमजोर रहेको गुनासो गरे । वार्षिक परीक्षाको नतिजा हेर्दा माध्यमिक तहका सबै विद्यार्थीहरू उत्तीर्ण भएका त छन् तर कसैको पनि ४५ प्रतिशतभन्दा बढी प्राप्ताङ्क देखिँदैन । सम्बन्धित शिक्षकले विद्यालयले आवश्यक शैक्षिक सामग्रीको व्यवस्था नगरेकाले यस्तो नतिजा आएको भन्ने आरोप लगाए । प्रधानाध्यापक चाहिँ विद्यालय व्यवस्थापन समितिले शैक्षिक सामग्रीको व्यवस्थाका लागि ध्यान नदिएर यसका लागि बजेटको व्यवस्था हुन नसकेको गुनासो गर्छन् । यस्तो अवस्थामा यस विद्यालयको शैक्षिक सामग्रीसम्बन्धी समस्याहरू पहिचान गरी ती समस्या समाधानका लागि उपयुक्त सुझावहरू प्रस्तुत गर्नुहोस् । ५+५=१० (शिसेआ २०७०)
#उत्तरः कुनै पनि विषयवस्तुको शिक्षण सिकाइलाई व्यावहारिक र उद्देश्यमूलक बनाउन शिक्षण कार्यमा प्रयोग गरिने सामग्रीलाई शैक्षिक सामग्री भनिन्छ । शैक्षिक सामग्रीको प्रयोगले शिक्षण सिकाइलाई आकर्षण तथा प्रभावकारी बनाउन सहयोग गर्दछ । भाषा शिक्षणका क्रममा पाठ्यक्रमका अतिरिक्त प्रयोग गरिने अन्य सामग्रीहरूलाई शैक्षिक सामग्री भनिन्छ । शिक्षण सिकाइका उद्देश्य पूरा गर्न र विद्यार्थी सहभागितासहित प्रभावकारी शिक्षण गर्न शैक्षिक सामग्रीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । भाषा शिक्षणमा शैक्षिक सामग्रीको प्रयोगले सिकाइलाई सरल, सरस, रुचिपूर्ण र प्रभावकारी बनाउँदछ । शिक्षण सिकाइको प्रभावकारिता वृद्धिका लागि शैक्षिक सामग्रीको महत्वलाई सबैले स्वीकार गरेको अवस्थामा भाषा शिक्षण सिकाइको प्रभावकारिताका लागि शैक्षिक सामग्रीको महत्व अझै धेरै रहेको पाइन्छ । तसर्थ कुनै विद्यालयको भौतिक, शैक्षिक र आर्थिक पक्ष राम्रो भए तापनि शैक्षिक सामग्रीको व्यवस्थापन र प्रयोगको अभावमा उक्त विद्यालयको नेपाली विषयमा विद्यार्थीहरू कमजोर हुनुलाई मुख्य समस्याको रूपमा लिन सकिन्छ । अतः उक्त विद्यालयको शैक्षिक सामग्रीको व्यवस्थापन र प्रयोगसम्बन्धी सम्भावित समस्याहरू निम्नलिखित उल्लेख गर्न सकिन्छः-
१. शिक्षण योजनाअनुसार आवश्यकता पर्ने शैक्षिक सामग्री व्यवस्थापनको योजना निर्माण र कार्यान्वयन नहुनु ।
२. शैक्षिक सामग्री खरिद गरेर मात्र प्राप्त गर्न सकिन्छ भन्ने प्रवृत्ति शिक्षकमा रहनु ।
३. शैक्षिक सामग्रीसम्बन्धी तालिमको व्यवस्था नहुनु ।
४. विद्यालयमा पाठ्यक्रम, शिक्षक निर्देशिका तथा अन्य सामग्री उपलब्ध नहुनु
५. शैक्षिक सामग्री प्रदर्शन गर्ने तथा भण्डार गर्ने उपयुक्त व्यवस्था नहुनु ।
६. शिक्षण सामग्री प्रदर्शन गर्ने तथा भण्डार गर्ने उपयुक्त व्यवस्था उपलब्ध नहुनु
७. स्थानीय शैक्षिक सामग्रीको महत्व र आवश्यकता बोध गरी छनोट र निर्माण नगरिनु ।
८. शैक्षिक सामग्री प्रयोगसम्बन्धी तालिम प्राप्त शिक्षकले पनि कक्षाकोठामा प्रयोग नगर्नु ।
९. भाषिक सीप, शब्द भण्डार, व्याकरण र भाषिक मूल्याङ्कन सम्बद्ध शैक्षिक सामग्री बजारमा सहज रूपमा प्राप्त नहुनु ।
१०. भाषा शिक्षणमा शैक्षिक सामग्री खासै आवश्यक पर्दैनन् भन्ने भावना सरोकारवालाहरूमा नहुनु ।
उक्त विद्यालयमा विद्यमान शैक्षिक सामग्रीको व्यवस्थापन र प्रयोगसम्बन्धी समस्या समाधानका लागि अपनाउन सकिने सम्भावित उपायहरू निम्नलिखित छन् :-
१. विषयगत शैक्षणिक योजनामा शैक्षिक सामग्रीको व्यवस्थाको प्रावधान राख्ने ।
२. शिक्षण योजनाअनुसारको शैक्षिक सामग्रीको व्यवस्थापन र प्रयोग गर्न तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण र कार्यान्वयन गर्ने ।
३. सकेसम्म उपलब्ध साधन स्रोतबाट बढीभन्दा बढी शैक्षिक सामग्री व्यवस्थापन गर्ने ।
४. स्थानीय शैक्षिक सामग्रीको सङ्कलन, छनोट, निर्माण, प्रयोग र भण्डारणमा विशेष जोड दिने ।
५. बजारमा उपलब्ध हुने शैक्षिक सामग्रीको खरिद गर्न स्रोतको व्यवस्था गर्ने ।
६. भाषा शिक्षणमा शैक्षिक सामग्रीको महत्वलाई व्यवहारमा प्रयोग गर्न विभिन्न छलफल र अन्तरक्रिया गरी सहजीकरण गर्ने ।
७. शैक्षिक सामग्रीमा विविधता र प्रभावकारिताका लागि समय समयमा छोटा अवधिका गोष्ठी, सेमिनार, तालिम आयोजना गर्ने ।
८. शैक्षिक सामग्री व्यवस्थापन र प्रयोगका लागि सघन शिक्षक तालिमको प्याकेज तयार गरी कार्यान्वयनको व्यवस्था गर्ने ।
९. शैक्षिक सामग्रीको के कसरी प्रयोग गर्ने भन्ने बारेमा स्पष्ट हुन पाठ्यक्रम, शिक्षक निर्देशिका र अन्य सन्दर्भ सामग्री उपलब्ध गराई तिनको प्रभावकारी उपयोगितामा जोड दिने ।
१०. शैक्षिक सामग्रीको सङ्कलन, छनोट, प्रयोग र भण्डारणमा विद्यार्थीलाई बढीभन्दा बढी सक्रिय तुल्याउने ।

#S_P

No comments: