उपत्यकाका ‘डन’हरूको भागाभाग, चरी र बाहुन भारततिर
काठमाडौं, ११ फागुन । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले
गुन्डागर्दीमा संलग्नहरूलाई कारवाही गर्ने भन्दै अभियान सुरु गरेलगत्तै
उपत्यकामा विभिन्न नामले परिचित ‘डन’हरू भूमिगत हुन थालेका छन् । खरेलले
काठमाडौंमा सुरु गरेको गुन्डागर्दी नियन्त्रण अभियानपछि संगठित गुन्डागर्दी
गर्दै आएका डनहरू धमाधम राजधानी छाडेर भागेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार काठमाडौंमा गुन्डागर्दी गर्दै आएका एमालेनिकट चरी भनिने
दिनेश अधिकारी भारतको पर्यटक नगरी गोवा र रमेश बाहुन भनिने सुजन पौडेल
भारतको राजधानी दिल्ली पुगेका छन् । प्रहरीले खोजी तीव्र बनाएपछि उनीहरू
भारततर्फ लागेको बताइएको छ । उनीहरूले अझै केही साता भारतमा बिताउने उनीहरू
निकट स्रोतको दाबी छ ।
केही साता पहिले रमेश बाहुन र चरीको संलग्नतामा ललितपुरका ‘डन’ तथा
कांग्रेस नेता मिनकृष्ण महर्जनलाई गोली हानिएको आरोप प्रहरीको छ । सोही
आरोपमा प्रहरीले उनीहरूको खोजी तीव्र बनाएको बुझिएको छ । दुई समूहबीच
ठेक्कापट्टाको कमिसनमा विवाद भएपछि गोलीकाण्ड भएको स्रोतको दाबी छ ।
सो गोलीकाण्डमा संलग्न भएको अभियोगमा बाहुनको समूहमा आवद्ध मधुसुदन डोटेल
पक्राउ परेपछि ती दुईको संलग्नता पुष्टि भएको थियो । काठमाडौंमा संगठित
गुन्डागर्दीको आडमा अपराध बढ्न थालेपछि प्रहरीले विशेष कार्ययोजना सुरु
गरेको हो । त्यस्ता गुन्डालाई नेता र पहुँचवालाले संरक्षण दिने आरोप पनि
लाग्दै आएको छ ।
काठमाडौं परिसर प्रमुख भएलगत्तै खरेलले चरी र बाहुनलाई पक्राउ गरी कानुनी
कारवाही गर्ने बताएका थिए । नेपाली सेनाको रेन्जर बटालियन गणका भगौडा
सिपाही रमेश बाहुन एमालेको रामेछाप जिल्ला कमिटी सदस्य हुन् । चरी नेकपा
एमाले धादिङ क्षेत्र नम्बर १ को क्षेत्रीय उपाध्यक्ष हुन् । काठमाडौं
प्रहरी परिसर प्रमुख खरेलले दुई साता पनि नबित्दै ५० भन्दा बढी गुन्डालाई
पक्राउ गरिसकेका छन् ।
उनीहरूलाई ट्रयाक रेकर्ड र उद्योगी व्यापारीहरूलाई धम्काएर रकम असुली गरेको
आरोपमा पक्राउ गरिएको प्रहरीको दाबी छ । त्यस्तै, प्रहरीले चक्रे मिलनका
भाइ तेजेन्द्र गुरुङ, शुक्रबहादुर लामा बाघे, पञ्चे लामालगायतलाई पनि
पक्राउ गरको छ ।

No comments:
Post a Comment