Tuesday, August 19, 2014
बुझेर खाऔं कालो सिमी
एजेन्सी । सिमीका कालो दानामा पाइने प्रोटिनले एन्टिअक्सिडेन्टको रूपमा काम गरेर शरीरबाट विषालु तत्व बाहिर निकाल्ने र रक्तचाप घटाउने तथ्य पत्ता लगाइएको छ । मेक्सिकोको नेसनल पोलिटेक्निक इन्स्टिच्युट अन्तर्गतको नेसनल स्कुल अफ बायोलोजिकल साइन्सेसका वैज्ञानिकले सिमीको सुकाइएका काला दानाबाट फेसोलिना र लेक्टिन नामका दुई वटा मुख्य प्रोटिनलाई निकालेर परीक्षण गरेका थिए ।
ती प्रोटिनले हाम्रो शरीरबाट गह्रौ धातु बाहिर निकाल्ने थाहा भयो र पेप्सिन प्यानक्रेटिनसँग ती प्रोटिनले हाइड्रोलाइज्ड गरिँदा एन्टिअक्सिडेन्ट गुण देखाएका थिए । अनुसन्धानमा संलग्न वैज्ञानिक डाभिला ओर्टिजले भन्नुभएको छ– सिमीको कालो दानामा ग्लुकोज, कोलेस्टेरोल र ट्रिग्लेसेराइड्स घटाउने गुण छ । विश्वका सबै क्षेत्रमा सिमी खाने गरिन्छ । कम खर्चिलो सिमीलाई पोषणका हिसाबले सर्वोत्तम खाद्य वस्तु मानिएको छ ।
सिमीको पकाइएको एक कचौरा कालो दानामा हामीलाई दैनिक आवश्यक पर्ने कुल फाइबरको ५९।८ प्रतिशत, प्रोटिन ३०।४ प्रतिशत, फलाम तत्व २० प्रतिशत, फोलेट ६४ प्रतिशत, म्याग्नेसियम ३०।१ प्रतिशत, म्याग्निज ३८ प्रतिशत, मोलिब्डेनम १७२ प्रतिशत, फस्फोरस २४ प्रतिशत, ट्राइप्टोफान ५६।२ प्रतिशत र २८ प्रतिशत भिटामिन बी–१ हुन्छ । सिमीमा पाइने घुलनशील फाइबरले कोेस्टेरोलको मात्रा घटाउँछ । क्लिनिकल परीक्षणबाट पनि सिमीले हानिकारक कोलेस्टेरोल एलडीएल र ट्रिग्लेसेराइड्सलाई कम गरेर हीतकारी कोलेस्टेरोल एचडीएल बढाउने देखिएको छ ।
सिमीमा फाइटोन्युट्रिएन्ट पनि धेरै हुने भएकाले रोगसँग लड्न सहयोग पुग्छ । अमेरिकाको कृषि विभागको अनुसन्धान अनुसार उच्च एन्टिअक्सिडेन्ट भएका चार वटा खाद्य वस्तुमध्ये तीन त सिमी नै छन् । जसमा रातो सिमी, रातो राजमा र छिर्के रङ भएको सिमी पर्छन् । कोलोराडो विश्वविद्यालयको अनुसन्धानले रातो सिमीमा सबैभन्दा बढी एन्टिअक्सिडेन्ट भएको र यसमा श्रेणीमा कालो सिमी दोस्रो नम्बरमा पर्ने जनाएको छ । खासगरी, सिमीको दानाको कालो रङको आवरणमा एन्टिअक्सिडेन्ट अत्यधिक हुन्छ ।
एन्टिअक्सिडेन्टले हाम्रो शरीरका हानिकारक फ्रि रेडिकललाई निस्तेज पारेर खतरनाक रोगबाट जोगाउँछन् । मधुमेह, उच्च रक्तचाप, क्यान्सर, स्नायु समस्यालगायतका विकार उत्पन्न गर्नमा फ्रि रेडिकलको भूमिका हुन्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment