Saturday, September 10, 2016

लोकसेवा आयोगको परीक्षामा कसरी पास गर्ने ? सहसचिपबको अनुभब र टिप्सहरु !!

लोकसेवा आयोगको
परीक्षामा कसरी पास
गर्ने ? सहसचिपबको अनुभब र
टिप्सहरु !!

पाठ्यक्रमअनुरूप र सोसँग सम्बन्धित अध्ययन सामग्री
जुटाउने,
नियमित अध्ययन, सफा अक्षर र ओजपूर्ण शब्द चयनधेरै
मध्यमवर्गीय नेपाली युवाको सपना हुन्छ–
लोकसेवामा नाम निकालेर सरकारी जागिर खाने ।
नेपालमा निजामती सेवाको बढ्दो आकर्षणसँगै
लोकसेवामा प्रतिस्पर्धा झन्–झन् कठिन हुँदै गएको छ
। लोकसेवा आयोगले यस वर्ष माग गरेको ४६५ शाखा
अधिकृतका लागि बिसौँ हजारले आवेदन दिइसकेका
छन् । त्यसैगरी उपसचिवका लागि पनि परीक्षा
चलिरहेको छ । सेवा प्रवेशका लागि योग्य बन्न
हजारौँ युवायुवती ट्युसन, कोचिङलगायत
स्वअध्ययनसहित मिहिनेत गरिरहेका छन् ।
तर, लोकसेवामा नाम निकाल्न सानोतिनो तपस्या
नै गर्नुपर्छ भन्छन् भुक्तभोगीहरू । निरन्तरको
मिहिनेतका साथमा धैर्य र आत्मबल पनि चाहिने
उनीहरूको धारणा छ । हाल चलिरहेको उपसचिवको
परीक्षा र आगामी माघ २५ मा हुने शाखा
अधिकृतको प्रथमपत्र तथा चैतमा हुने थप पत्रका
परीक्षार्थीका लागि उपयोगी हुने गरी हामीले ०६९
को सहसचिवको परीक्षामा सर्वोत्कृष्ट भएका
किरणराज शर्माको लोकसेवाको प्रवेश अनुभव र
टिप्स समावेश गरेका छौँ :
सरकारी सेवामा रहँदा प्रत्यक्ष रूपमा देश र जनताको
सेवा गर्न पाइने उद्देश्यले म यो सेवामा प्रवेश गरेको हुँ ।
सार्वजनिक सरोकार, सार्वजनिक क्षेत्रमा सुधार
गर्दा समस्त नागरिकको जीवनयापनमा सुधार आउने र
आत्मसन्तुष्टि पाइने तथा तत्कालीन अवस्थाको
इज्जत, मानप्रतिष्ठाले पनि यो सेवामा आउन प्रेरित
गरेको थियो ।
०४५ वैशाखमा राष्ट्रिय वाणिज्य बैंकको सहायक
पदमा नाम निकालेँ । त्यहाँ दुई वर्ष काम गरेपछि म
नेपाल राष्ट्र बैंकमा सहायककै रूपमा गएँ ।
त्यतिवेलासम्म मैले प्रथम श्रेणीमा एमबिए उत्तीर्ण
गरिसकेको थिएँ । त्यसपछि भने मलाई निजामती
सेवामा नै प्रवेश गर्ने इच्छा पलाएर आयो । ०५१ मा
लेखा अधिकृतको परीक्षा दिएँ, उत्तीर्ण भएँ ।
लोकसेवाको परीक्षाको तयारी गर्दा दैनिकजसो
कम्तीमा दुईदेखि चार घन्टा अध्ययन गर्थेँ । मैले ट्युसन
वा कोचिङ कहिल्यै पढिनँ । दैनिकजसो नै
आवश्यकताअनुसार अध्ययन गर्थेँ । खोजपूर्ण अध्ययन
सामग्रीको संकलन गर्थेँ । निजामती सेवामा प्रवेश
गर्नेहरूले सबैभन्दा पहिला सार्वजनिक सेवाप्रतिको
स्पष्ट अवधारणा बनाउनुपर्छ । सार्वजनिक सेवालाई
आत्मसात् गर्नुपर्छ । अनि मात्रै परीक्षाको तयारी
थाल्नुपर्छ ।
मैले हरेक परीक्षा दिँदा दैनिकजसो नै दुईदेखि चार
घन्टासम्म अध्ययन गर्थेँ । लेखा अधिकृत र
उपसचिवभन्दा स्वाभाविक रूपमा नै सहसचिवका
लागि बढी अध्ययन र तयारी गर्नुपर्यो । म ०५९ मा
उपसचिव बन्दा पनि मैले धेरै नै मिहिनेत गरेको थिएँ ।
लेखा अधिकृतबाट प्रशासनको उपसचिवको परीक्षा
दिनुपर्ने भएकाले पनि अलि बढी मिहिनेत गर्नुपरेको
थियो ।
निरन्तर मिहिनेतको बलमा उपसचिवको आन्तरिक
प्रतिस्पर्धामा पनि पहिलो नम्बरमा नाम निकाल्न
सफल भएँ । उपसचिव हुँदा आकर्षक ठानिएका
निकायमा जान कहिल्यै मरिहत्ते गरिनँ । महिला
बालबालिका तथा समाज कल्याण मन्त्रालय,
सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगमा
रहेर काम गरेँ । १० वर्ष उपसचिवको भूमिका निर्वाह
गरेपछि २३ फागुन ०६९ मा मैले सहसचिवको आन्तरिक
प्रतिस्पर्धामा पनि पहिलो नम्बरमै नाम निकाल्न
सफल भएँ ।
सहसचिव परीक्षाका लागि पनि मैले अत्यन्तै बढी
मिहिनेत गरेँ । यद्यपि, मैले सरकारी कामलाई भने
कहिल्यै ‘ह्याम्पर’ गरिनँ । बिहान चार–सात बजेसम्म र
बेलुकी एक घन्टा गरी दैनिक चार घन्टा अध्ययन गर्थेँ ।
आफ्ना समकालीन साथीहरूसँग कोर्समा आधारित
रहेर अन्तरक्रिया पनि गर्थेँ ।
पूर्वमुख्यसचिव तथा सचिवहरूसँग छलफल गरी आवश्यक
‘फिडब्याक’ लिन्थेँ । केही नयाँ विषय पाउनासाथ
टिपोट गरिहाल्थँे । नोट बनाउनुभन्दा पनि कोर्ससँग
सम्बन्धित हरेक विषय अध्ययन गर्ने क्रममा टिपोट गर्थेँ
। टिपोट गरेका विषयलाई स्मरण गर्ने, पढ्ने र अभ्यास
गर्थेँ । हरेक कोर्सबारे आफैं अवधारणा बनाउँथेँ र
विश्लेषण गर्थेँ ।
परीक्षामा सहभागी हुनुपूर्व केही महत्त्वपूर्ण कुरामा
ध्यान दिनुपर्छ । सिलेबसअनुसारको नोट र सदैव
सुधारका लागि थप सामग्रीको रुचिपूर्ण अध्ययन
आवश्यक पर्छ । इन्टरनेट, विभिन्न पत्रपत्रिकाको
अध्ययन, कोचिङ सेन्टरहरू, साथीहरूसँगको
अन्तरक्रियालाई निरन्तरता दिनुपर्छ । यसका साथै
प्रशासनिक क्षेत्रका सम्बन्धित प्रकाशन, पुस्तक र
लेखरचनाको अध्ययन गर्नुपर्छ । त्यसैगरी नेपाल
सरकारबाट भइरहेका प्रयास, अध्ययन प्रतिवेदनहरू,
सुधारका विषयहरू र नीतिहरूको विश्लेषणात्मक
अध्ययन गर्नुपर्छ ।
दैनिक शान्त जीवन, निश्चित आम्दानीबाट चल्ने
प्रबन्ध, मैत्रीपूर्ण र हर्षपूर्ण पारिवारिक वातावरण
बनाई पढाइको वातावरण अनुकूल बनाउनुपर्छ ।
त्यसैगरी पढ्ने–लेख्ने, केही समय सम्झन प्रयास गर्ने गरी
स्मरण शक्तिलाई तेज बनाउनुपर्छ । परीक्षामा लेख्दा
राम्रो र प्रस्ट अक्षर तथा छोटो र ओजपूर्ण शब्द चयन
गर्नुपर्छ । आवश्यकताअनुसार समसामयिक
उदाहरणसहित प्रश्नले मागेको जवाफ दिनुपर्छ ।
मैले सकेसम्म इमानदारितापूर्वक काम गरिरहेको छु ।
काम ठग्न हुँदैन भन्ने लाग्छ । यो सेवाक्षेत्रमा काम
गर्न सके आत्मसन्तुष्टि हुन्छ । असाधारण बिदा,
वैदेशिक भ्रमणलगायतका अवसर छन् । यद्यपि,
निजामती सेवाभित्र केही विकृति पनि छन् ।
सेवाभाव, पद्धतिबद्ध सोच र निष्पक्ष भावनामा
केही कमी आएको देखिन्छ । आमूल सुधारको
आवश्यकता बढेर गएको छ ।
Nepal cahutari

No comments: